दफा ११
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकलाई खटाउने सम्बन्धी विशेष व्यवस्था
(१) यस ऐन बमोजिम प्रदेश प्रहरीमा समायोजन गर्दा प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा मन्त्रालयले नेपाल प्रहरीको समान पदको प्रहरी अधिकृतलाई खटाउनेछ।
(२) उपदफा (१) बमोजिम प्रदेश प्रहरीमा खटाइएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकले प्रदेश प्रहरीको दर्ज्यानी चिह्ग लगाई प्रदेश प्रहरीको रुपमा काम गर्नु पर्नेछ।
(३) उपदफा (१) बमोजिम प्रदेश प्रहरीमा खटाइएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकलाई प्रदेश कानून बमोजिम प्रदेश प्रहरीको रुपमा प्रदेश सरकारले सञ्चालन तथा परिचालन गर्नेछ।
(४) उपदफा (१) बमोजिम प्रदेश प्रहरीमा खटाइएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकलाई प्रदेश सरकारको सहमतिमा: प्रदेशबाहिर वा नेपाल प्रहरीको कुनै पदमा सरुवा गर्न सकिनेछ।
तर शान्ति सुरक्षाको दृष्टिले वा आचरण विपरीत काम गरेको कारणले कुनै प्रहरी कर्मचारीलाई सो प्रदेशमा राखी राख्न उपयुक्त नभएमा नेपाल सरकारले जुनसुकै बखत सरुवा गर्न सक्नेछ। यसरी सरुवा गरिएको जानकारी सम्बन्धित प्रदेश सरकारलाई दिनु पर्नेछ।
(५) उपदफा (१) बमोजिम प्रदेश प्रहरीमा खटिएको प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको पद जुनसुकै कारणले रिक्त भएमा सङ्घीय कानूनले तोकेको मापदण्डको अधीनमा रही प्रदेश कानून बमोजिम प्रदेश प्रहरीबाट बढुवा गरी पूर्ति गरिनेछ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश प्रहरीको रिक्त प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा सो उपदफा बमोजिम बढुवा गरी पूर्ति गर्न सकिने अवस्था नभएमा मन्त्रालयले नेपाल प्रहरीको समान पदको प्रहरी अधिकृतलाई खटाउन सक्नेछ।
(७) उपदफा (१) वा (६) बमोजिम प्रदेश प्रहरीमा खटाइएको प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षकको पद नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयको पुल दरबन्दीमा रहनेछ।
(८) यस दफा बमोजिम प्रदेश प्रहरीमा खटाइएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक सङ्घीय कानून बमोजिम नेपाल प्रहरीको माथिल्लो पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुनेछन्‌।
(९) यस ऐन बमोजिम नेपाल प्रहरीबाट प्रदेश प्रहरीमा खटाइएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको पारिश्रमिक, सुविधा तथा प्रदेशभित्र हुने सरुवा सङ्घीय कानूनले तोकेको मापदण्डको अधीनमा रही प्रदेश कानून बमोजिम हुनेछ।
(१०) उपदफा (९) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश कानून बमोजिम पाउने पारिश्रमिक तथा सुविधा नेपाल प्रहरीको समान पदले पाउने पारिश्रमिक तथा सुविधाभन्दा कम हुने छैन।